रुपन्देही, हेरालाे खबर
थाई एसिया एयरलाइन्स बैङ्कक-भैरहवा-बैङ्कक उडान आजदेखि शुरु गरेको छ । आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
“शुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए-३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।”
थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।
थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुन:उडान काठमाडाैँमा शुरु गर्न अनुमति पाएलगत्तै उडान शुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।
भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी शुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७:४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया