logo
  • ५ मंसिर २०८२, बिहीबार | Thu, 20 Nov 2025
  • खराब माैसमका कारण रविलाई भैरहवा लैजाने जहाज अझै उडेन

    • Heralo Reporter Heralo Reporter
    • २७ कार्तिक २०८१ मंगलवार
    खराब माैसमका कारण रविलाई भैरहवा लैजाने जहाज अझै उडेन

    पाेखरा , हेरालाे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही लगिँदैछ । लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल लगिनेछ ।

    उनलाई भैरहवा ल्याउने भनेसँगै बिहानैदेखि गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। तर भिजिबिलिटी कम हुँदा उनलाई जहाजबाट भैरहवा लैजान सकिएको छैन । उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो ।

    भैरहवामा भिजिबिलिटी कम भइरहँदा अहिले हल्का घाम लागेको बताइन्छ । कम्तीमा १८ सय मिटर भिजिबिलिटी नभइ जहाज ल्याउन नमिल्ने भएकामा अहिले १२ सय पुगेको विमानस्थलका एक अधिकारीले बताए ।

    साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ। जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो ।

    लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।

    उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।

    लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।

    यसैबीच सभापति लामिछानेलाई रुपन्देही ल्याउँदै गर्दा रास्वपाले बुटवलमा प्रदर्शन गर्ने तयारी गरेको छ । सबै कार्यकर्तालाई बिहान ११ बजे बुटवल आइ सक्न निर्देशन दिइएको बताइएको छ । रास्वपाको आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP