पोखरा, २ भदौ , हेरालाे खबर
गीताञ्जली साहित्य परिवारले साहित्यकार एवं उपप्राध्यापक कल्याण पन्तलाई गीताञ्जली साहित्य रत्न पुरस्कार र साहित्यकार एवं पत्रकार असफल गौतमलाई रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार प्रदान गरेको छ ।
नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याएकोमा शनिबार आयोजित समारोहमा उनीहरुलाई जनही २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
यस्तै, संस्थाद्वारा बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक पौडेल स्यार्कोटेद्वारा स्थापित तुलसी मुवा अहिल्या बालप्रतिभा पुरस्कार इडिभा खतिवडालाई प्रदान गरियो । पुरस्कारको राशि १ हजार १ सय र सम्मानपत्र छ ।
सो अवसरमा मुक्तकमणि तीर्थराज अधिकारीद्वारा रचित ‘सारवत’ मुक्तक संग्रह लोकार्पण गरियो । २००३ सालमा लमजुङमा जन्मिएका अधिकारीका ९ कृति प्रकाशित भइसकेका छन् । परिवारका संरक्षक समेत रहेका उनी हाल अमेरिका बस्छन् । साहित्यको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मान गरिएको संस्थाका अध्यक्ष भानु भण्डारी क्षितिजले बताए ।
पुरस्कार प्रदान गर्दै वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले प्रतिभा छनोट समितिले उचित पात्र चयन गरेको भन्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिइन् । सो अवसरमा उनले नेपाली साहित्य जीवन्त बनाउन सबै नागरिक सचेत हुनुपर्ने औंल्याइन् ।
पुतलीबजार–७, स्याङ्जामा जन्मिएका पुरस्कृत व्यक्तित्व असफल गौतम आफूलाई नेपाली वाङ्मय तथा सञ्चारका क्षेत्रमा सर्जक, संगठक, समालोचक र अन्वेषकका रुपमा स्थापित गराउन साधनारत छन् । विविध विधाका दर्जन बढी कृति प्रकाशित गरिसकेका उनले दर्जनौं सम्मान एवं पुरस्कार पाइसकेका छन् । यसअघि सो पुरस्कार रत्नशमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापालाई दिइएको थियो ।
अर्का सम्मानित व्यक्तित्व पन्त राइनास–८, लमजुङका हुन् । उनी लघुकथा कृति प्रकाशन, अनुसन्धानमूलक लेखन, खगोल तथा ज्योतिष विज्ञान र पत्रकारितामा क्रियाशील छन् । विभिन्न ग्रन्थको सम्पादन अनुभवसमेत हासिल गरेका पन्तका समय सन्दर्भ र प्रसाद दुई लघुकथा संग्रह कृति प्रकाशित छन् । उनी लघुकथा समाज नेपालद्वारा आयोजित बाटुली खिलध्वज लघुकथा सम्मान, २०७९ बाट पुरस्कृत भइसकेका छन् । उक्त पुरस्कार यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, प्राडा जगन्नाथ रेग्मी, तारानाथ पाखे, डा.नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्राडा कुसुमाकर न्यौपानेलाई दिइएको थियो ।
गीताञ्जली साहित्य रत्न पुरस्कार संस्थाद्वारा स्थापित सञ्चालित पुरस्कार हो भने रुना साहित्य पुरस्कार मुक्तकमणि तीर्थराज अधिकारीको परिवारद्वारा बाबा नारायणदत्त र आमा रुक्मिणाको स्मृतिमा स्थापित अक्षयकोषबाट सञ्चालित छ ।
प्रतिभा छनोटका लागि विन्ध्यवासिनी संस्कृत विद्यापीठ प्रमुख प्राडा जगन्नाथ रेग्मीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तकमणि तीर्थराज अधिकारी, सम्मानित स्रष्टा पन्त र गौतम लगायतले बोलेका थिए । गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ले स्वागत गरेको कार्यक्रमको संचालन सचिव नरेन्द्र रानाभाटले गरेका थिए । सम्मानित स्रष्टा पन्तको परिचय शंकर ज्ञवाली ‘मुक्तकमणि’ र गौतमको परिचय वसन्त चालिसेले गराए ।
सो अवसरमा काजी गाउँले टिमले संगीत प्रस्तुत गरेको थियो भने स्रष्टाले रचनावाचन गरे ।
प्रतिक्रिया