पाेखरा , हेरालाे खबर
पोखरा वडा नं. १० बुद्धचोक स्थित द स्केट पार्कमा आगो लाग्दा जलेर पूर्ण रुपमा नष्ट भएको छ । कास्की प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेर २० मिनेटमा विद्युत लाइन सर्ट भएर आगो लागेको हो ।
करिब पौने घण्टा पछि ९ बजेमात्र आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको जिरोकिलोमिटरका कृष्ण ढडकाल र चाउथेका अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरिरहेको उक्त स्केट पार्क जस्तापाता र बाँसले बनेको थियो । आगलागीबाट पूर्ण संरचनासहित स्केट जुत्ताहरु ६ सय ५० थान, कम्प्युटर ३ थान, ४३ ईञ्चको टिभी, जेनेरेटर, इन्भर्टर, सीसीटिभी क्यामेरा, जुत्ताका पार्टसहरु जलेर नष्ट भएका छन् ।
मानविय र चौपाया क्षेति भने भएको छैन । उक्त आगो वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी, दमकल र स्थानियको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
विगत ५ वर्षदेखि व्यवसायिक रुपमा सफल तरिकाले स्केट पार्क सञ्चालन हुँदै आएको थियो । सयौं युवायुवती तथा बालबालिका पुग्ने गरेका थिए ।
आगलागीबाट युवा व्यवसायीका लाखौंको क्षति भएको छ ।
प्रतिक्रिया