पोखरा , हेरालाे खबर
नेपालभर एच.पि.भी. खोप अभियान सुरु भएसँगै पोखरा महानगरपालिकामा पनि यसको प्रभावकारी कार्यान्वयन थालिएको छ। पहिलो दिन पोखरा महानगरपालिका वडा नम्बर ५ मा १८७ जना किशोरीले खोप लगाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु बरालले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अभिभावक, र नागरिक अगुवाहरूलाई खोपको फाइदाबारे जनचेतना फैलाउन भूमिका खेल्न आग्रह गरे।
नगर प्रमुख धनराज आचार्यले विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई खोप केन्द्रमै पुगेर खोप लगाइने तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई फागुन ६ गते महानगरका ४७ वटा स्वास्थ्य केन्द्रमार्फत खोप प्रदान गरिने जानकारी दिए।
पोखरा महानगरपालिकाका जनस्वास्थ्य अधिकृत सुवास बास्तोलाका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दिइने यो खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई प्रदान गरिन्छ। “शारीरिक सम्पर्क हुनुभन्दा पहिले खोप लगाउँदा यसको प्रभावकारिता ९८ देखि १०० प्रतिशतसम्म हुने अध्ययनहरूले देखाएका छन्,” बास्तोलाले जानकारी दिए।
पोखरा महानगरपालिकाभित्र अभियानले समेट्नु पर्ने झण्डै २३ हजार किशोरी छन्। महानगरले २७५ विद्यालयलाई खोप केन्द्र तोकी ३४४ जना स्वास्थ्यकर्मी परिचालन गरेको छ। अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरूलाई विद्यालयमै खोप दिने व्यवस्था गरिएको छ भने विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई स्वास्थ्य संस्थाहरू र बाह्य खोप केन्द्रमार्फत खोप दिइनेछ ।
नेपाल सरकारले एच.पि.भी. खोपलाई यस वर्षदेखि राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ। आगामी वर्षदेखि प्रत्येक वर्ष कक्षा ६ मा भर्ना भएका र १० वर्ष पुगेका किशोरीहरूलाई नियमित रूपमा खोप दिने व्यवस्था मिलाइनेछ।
नेपालमा हरेक दिन औसत चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। एच.पि.भी. खोपलाई विश्व स्वास्थ्य संगठनले सुरक्षित र प्रभावकारी प्रमाणित गरिसकेको छ भने नेपाल औषधि व्यवस्था विभागबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित उमेर समूहका सबै किशोरीहरूलाई निर्धक्क भएर खोप लगाउन अनुरोध गरेको छ।
प्रतिक्रिया