पोखरा , हेरालाे खबर
पोखरा रङ्गशालामा साेमवारदेखि आइटीएफ वर्ल्ड टेनिस टूर जे थर्टी प्रतियोगिता हुँदैछ। २९ गतेसम्म चल्ने प्रतियाेगितामा १० देशका १०५ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष ७० र महिला ३५ जना छन्। प्रतियाेगितामा जापान, भारत, अमेरिका, चीन, ताइवान, मंगोलिया, बंगलादेश, न्युजिल्यान्ड, कोरिया र नेपालका खेलाडीहरू सहभागी हुनेछन्।कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ (राजु) ले जानकारी दिए । उनले पोखरालाई खेलकुदमार्फत प्रवर्द्धन गर्न प्रतियोगिता महत्त्वपूर्ण रहेको बताए।
कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले यस प्रतियोगितालाई स्थानिय खेलाडीहरूको खेल कौशल सुधार्ने अवसरको रूपमा देखेका छन्। उनले भने, “यो प्रतियोगिता पोखरामा खेलकुदको स्तर वृद्धि गर्ने महत्वपूर्ण अवसर हो। यसले हाम्रो स्थानिय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहयोग पुर्याउनेछ।” उनले पोखरा आउनको लागि कनेक्टिभिटीको अवस्थाबारे ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक भएकाे बताए ।
कास्की टेनिस संघका सचिव भिष्मराज पौडेलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। उनले भने, “हामीले सबै तयारी पूरा गरेका छौं र पहिलो सर्किट सोमबारदेखि सुरू हुनेछ।”
प्रतियोगितामा पुरुष र महिला सिंगल्स तथा डबल्स गरी चार प्रमुख विधामा प्रतिस्पर्धा हुनेछ। १३ देखि १८ वर्ष उमेर समूहका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगितामा विजेताले ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक र क्वार्टरफाइनलिस्टले ५ अंक प्राप्त गर्नेछन्। डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ अंक, सेमिफाइनलिस्टले ६ अंक र क्वार्टरफाइनलिस्टले ३ अंक प्राप्त गर्नेछन्।
नेपाली खेलाडीहरूको तर्फबाट आरभ सम्राट हाडा र सुनिरा थापा यस प्रतियोगितामा मुख्य आकर्षण हुनेछन्। जापानी खेलाडी रिकु हिगासी र भारतीय खेलाडी माहिका खन्ना पनि प्रतियोगितामा भाग लिनेछन्।
प्रतियाेगिता सम्पन्न गर्न करिव २३ लाख रुपैयाँ खर्च हुने आयाेजकाे अनुमान छ। कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु थापाले सहयोगका लागि प्रदेश सरकार, खेलकुद परिषद र पोखरा महानगरसँग आग्रह गरेका छन्।
प्रतिक्रिया