logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • पोखरामा दोस्रो नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव को तयारी पूरा

    पोखरामा दोस्रो नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव को तयारी पूरा

    पोखरा , हेरालाे खबर

    गण्डकी प्रदेशको पोखरामा दोस्रो संस्करणको नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी तीव्र पारिएको छ। यही पुस १३ देखि १५ गतेसम्म (डिसेम्बर २८–३०) पोखराको फेवातालमा भव्य महोत्सवका रूपमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका कुल २० समूहले प्रतिस्पर्धा गर्नेछन्।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगितामा नेपालका ११ समूह, मित्रराष्ट्र चीनका ८ समूह र सिङ्गापुरको १ समूहले भाग लिनेछन्। प्रतियोगिता नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुँदैछ।

    प्रतियोगिताका विजेताले नगद ५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले २ हजार डलर (करिब २ लाख ७१ हजार रुपैयाँ) र तेस्रो हुने समूहले १ हजार २ सय डलर (करिब १ लाख ६३ हजार रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछन्। बाँकी १७ सहभागी समूहलाई पनि नगद ५ सय डलर (करिब ६८ हजार रुपैयाँ) को सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

    गत वर्षदेखि पोखराको फेवाताल र वेगनास तालमा औपचारिक रूपमा सुरु भएको यो प्रतियोगिता चिनियाँ परम्परागत र लोकप्रिय खेल ड्रागन बोट रेसलाई नेपालमा प्रचलित गराउँदै गइरहेको छ। यस प्रतियोगिताले पोखराका तालहरूमा पानीका खेलकुद (वाटर स्पोर्ट्स) को सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले नेपाल-चीन सम्बन्धमा थप नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गर्दै पोखरालाई वाटर स्पोर्ट्सका लागि अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा विकास गर्न महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए। साथै, यसले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्ने र पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा उभ्याउने उनले बताए।

    यसै क्रममा नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले पनि पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताए। नेपाल-चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै उनले पर्यटन, संस्कृति र भौतिक विकासका क्षेत्रमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

    यस महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल-चीन सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



    Heralo Reporter Heralo Reporter    
  • ३ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP