logo
  • ३२ जेष्ठ २०८२, शनिबार | Sat, 14 Jun 2025
  • संस्थानले उपभोक्ताको समस्या समाधान गर्नुपर्छ: नेता शर्मा

    संस्थानले उपभोक्ताको समस्या समाधान गर्नुपर्छ: नेता शर्मा

    हेरालाे खबर

    नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सेवा मुलक खानेपानी संस्थानले उपभोक्ताको सर्वोपरि हित गर्नु पर्नेमा जोड दिएका छन् ।

    नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा पोखरामा आयोजित नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकाललाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नेता शर्माले पानी मानिसको जीवन भएको भन्दै प्रभावकारी सेवा दिन संस्थानलाई आग्रह गरे ।

    कार्यक्रममा बधाई दिँदै नेपाली कांग्रेस नेता एवं गण्डकी प्रदेश सांसद प्रकाश बरालले संस्थानले सरकारको ऋण तिर्न सक्ने गरी योजना ल्याउन नवनियुक्त महाप्रबन्धक ढकाललाई अनुरोध गर्दै कर्मचारीका समस्या समाधान हुनेमा आफूहरु ढुक्क भएको बताए ।

    नेपाल खानेपानी संस्थान कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा सवै कर्मचारी संग भएको क्षमता उपयोग गरेर मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरेका थिए ।

    संस्थानको सिमित स्रोत र साधनबाट अधिकतम सेवा प्रवाह गर्नु पर्ने दायित्वबाट संस्थान चुक्न नहुने धारणा राखेका थिए । ढकालले विनियमावली परिवर्तनशील दस्तावेज भएकाले आवश्यकताको आधारमा थपघट गर्दै युनियनसँग सहकार्य गर्न आफू तयार रहेको बताए ।

    कर्मचारी संघका केन्द्रीय सदस्य अनिल शर्मा सुवेदीले सञ्चालन गरेको कार्यक्रममा नेपाल खानेपानी संस्थान गौशाला शाखाका प्रमुख राकेश गोईतले शाखा विस्तार अभियानलाई साथ दिनु पर्नेमा जोड दिएका थिए । उनले कर्मचारी संघको हरेक कदम तथा कार्यक्रम सकारात्मक भएको बताउँदै कर्मचारीका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

    कर्मचारी संघका सल्लाहकार विष्णुप्रसाद रेग्मीले स्वागत गरेको सभामा नेपाली कांग्रेस गोरखा जिल्लाका महाधिवेशन प्रतिनिधि ओम गुरुङले पञ्चायत तथा द्वन्दकालमा दमन र अन्यायमा परेको परिवार भित्रको असल व्यक्तित्व अर्जुनबाबु ढकाललाई शुभकामना दिँदै सफल कार्यकाल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेपाल खानेपानी खानेपानी संस्थान कर्मचारी संगठनका सचिव झलकराम अधिकारीले कार्यरत कर्मचारीको रोजगारको सुनिश्चित गर्नु पर्ने बताए । अधिकारीले राम्रो कामको समर्थन गर्ने बताएका थिए । कर्मचारी संघ इकाई समिति पोखराका कोषाध्यक्ष सिमाना केसीले अतिथिहरुलाई गायन र नृत्यको माध्यमबाट स्वागत गरेकी थिइन् । कार्यक्रममा विभिन्न शाखाका कार्यालय प्रमुखहरुको उपस्थित रहेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १३ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP