logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • उपाधिका लागि जनकपुरलाई सुदूरपश्चिमको बलियो लक्ष्य

    उपाधिका लागि जनकपुरलाई सुदूरपश्चिमको बलियो लक्ष्य

    हेरालाे खबर

    पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्नका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सबाट बलियो लक्ष्य पाएको छ ।

    टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो ।

    सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

    लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यति बेला जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अन्तिम बलमा जेब बाउन्ड्री नजिकै ललितनारायण राजवंशीबाट समातिए ।

    पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे ।

    जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।

    हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए ।

    १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।

    कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।

    यसअघि लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।

    लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो ।

    सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए ।

    बुधवारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।

    पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।

    एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ६ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP