logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • डेभिज फल्सको व्यवस्थापन विवाद: नेवि संघद्वारा राँके जुलुससहित काेणसभा

    डेभिज फल्सको व्यवस्थापन विवाद: नेवि संघद्वारा राँके जुलुससहित काेणसभा

    पोखरा

    हेरालाे खबर  , पोखरा महानगरपालिका–१७, छोरेपाटनस्थित चर्चित पर्यटकीय तथा धार्मिक स्थल डेभिज फल्सको व्यवस्थापनमा उत्पन्न विवादका कारण नेपाल विद्यार्थी संघले आन्दोलन चर्काएको छ।

    पोखरा महानगरपालिका र छोरेपाटन माविले संयुक्त रूपमा डेभिज फल्समा तालाबन्दी गरेपछि, विद्यार्थीहरूले उक्त निर्णयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।

    नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेलको नेतृत्वमा करिव ३० जनाको समूहले नाराबाजीसहित राँके जुलुस प्रदर्शन गर्याे ।

    जुलुसमा ‘दलाल मेयर मुर्दावाद’, ‘डेभिज फल्स हाम्रो हो’, ‘विद्यार्थी एकता जिन्दावाद’, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर’, ‘गरेको सहमति कार्यान्वयन गर’ जस्ता नाराहरु लगाएका थिए ।

    प्रहरीले साँझ ६:३० बजे प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि डेभिज फल्सको मुख्य प्रवेशद्वारअगाडि कोणसभा सुरु भयो।

    कोणसभामा नेपाल विद्यार्थी संघ छोरेपाटन मावि इकाई सभापति श्रीयान्स आचार्य, गुप्तेश्वर सुजनशील मञ्चका अध्यक्ष शिवम शाही, नेपाली कांग्रेस पोखरा–१७ का सभापति देवराज आचार्य, पृथ्वीनारायण क्याम्पसका सभापति प्रयास कोइरालालगायत करिब ६० जनाको उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य निर्दोष बिक्रम पौडेलले २०३४ सालमा गरिएको सहमतिलाई बारम्बार लत्याउने कार्यले पर्यटन क्षेत्रमाथि नकारात्मक असर पुर्‍याएको बताए। उनले भने, ‘डेभिज फल्स हाम्रो हो। यसलाई कसैलाई दिन सकिदैन। विद्यार्थीलाई पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ। राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको खण्डमा नेपाल विद्यार्थी संघले सशक्त रूपमा प्रतिवाद गर्नेछ।’

    अन्य वक्ताहरूले डेभिज फल्सजस्तो पर्यटकीय सम्पत्तिलाई बेचेको वा व्यावसायिक स्वार्थमा प्रयोग गरिएको आरोप लगाउँदै विद्यार्थीको हितलाई ध्यान दिन महानगरलाई सचेत गराए।

    प्रदर्शन र कोणसभाले डेभिज फल्स व्यवस्थापनसँग सम्बन्धित विवादलाई थप चर्काउने संकेत दिएको छ। महानगर र विद्यालय प्रशासनबीचको समस्या समाधानका लागि शीघ्र कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।



    Heralo Reporter Heralo Reporter    
  • ४ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP