पोखरा , हेरालाे खबर
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। यस चुनावलाई लिएर पोखराको जनप्रिय क्याम्पसमा पनि माहोल तातेको छ। विद्यार्थी संगठनहरू आन्तरिक तयारीमा छन् भने उम्मेदवारहरू प्रचारप्रसारमा ब्यस्त भएका छन्।
यसपटक चुनाव धेरै विवादरहित देखिएको छ। जनप्रिय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट अनिसा खडका (अनु) कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धामा छिन्। उनका प्रतिद्वन्द्वीहरू अनेरास्ववियुका सफल तिवारी र अखिल (क्रान्तिकारी) का सागर थापा रहेका छन्।
अनिसा खडका पर्वत जिल्लाको बिहादी गाउँपालिका–१, बाच्छाँमा जन्मिएकी हुन्। उनको जन्म २०५७ साल साउन २८ गते भएको हो। अनिसाले आफ्नो प्रारम्भिक पढाइ गाउँकै जनकल्याण माध्यमिक विद्यालयबाट पूरा गरिन्। उच्च शिक्षाका लागि पोखरा आएकी उनी अहिले जनप्रिय क्याम्पसमा बिजनेस स्टडिज (MBM/MBS) को पहिलो सेमेस्टरमा अध्ययन गरिरहेकी छिन्।
विद्यालय जीवनदेखि नै सामाजिक कार्यमा सक्रिय अनिसाले रेडक्रस, बाल क्लब तथा विद्यार्थी संगठनहरूमा काम गर्दै आएकी छन्। उनले पोखरा-पर्वत सम्पर्क समितिको कोषाध्यक्ष भएर दुई वर्ष काम गरिन्। २०७४ मा जनप्रिय क्याम्पसको नेविसंघ कोषाध्यक्ष बनेकी उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्वतका विभिन्न जिम्मेवारी पनि सम्हालिसकेकी छिन्। अहिले उनी नेविसंघ जनप्रिय क्याम्पस कमिटीको उपसभापति छन्।
अनिसाले विद्यार्थी संगठनहरू पार्टीका नेताहरूका लागि मात्र सिँढी बन्न नहुने बताएकी छन्। उनका अनुसार विद्यार्थी राजनीति विद्यार्थीहरूको हक र हितका लागि हुनुपर्छ।
“राजनीति जोगाउनका लागि मात्र विद्यार्थी बनेका होइनौं। विद्यार्थी नेताहरूका लागि भर्याङ बन्नुहुँदैन। स्ववियुमा पढ्ने विद्यार्थीहरूले नै अवसर पाउनुपर्छ,” उनले भनिन्।
उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको लापरबाही, विद्यार्थीहरूलाई पर्ने समस्या, क्याम्पसमा हुने ढिलासुस्ती, पढाइको गुणस्तर जस्ता विषयमा ध्यान दिनुपर्ने बताइन्। विद्यार्थीहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आफू चुनाव लडिरहेको उनको भनाइ छ।
स्ववियु चुनाव पटक–पटक भए पनि विद्यार्थीहरूका समस्या जस्ताको तस्तै रहेको भन्दै अनिसाले अब उचित नेतृत्व चयन गर्नुपर्ने बताएकी छन्।
“हामीले आफ्नो पढाइ राम्रो बनाउन, शिक्षाको गुणस्तर बढाउन र विद्यार्थीहरूको अधिकार सुरक्षित गर्न अब सचेत हुनुपर्छ। विद्यार्थीका समस्या समाधान गर्न, प्रशासनलाई जवाफदेही बनाउन र स्ववियुलाई प्रभावकारी बनाउन म चुनाव लड्दैछु,” उनले भनिन्।
प्रतिक्रिया