हेरालाे खबर
राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् ।
विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिता १५ फागुनबाट शुरु भई १५ चैतमा सकिएको थियो । संघले गत सोमबार वरीयता प्राप्त प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपाल स्क्वास एन्ड ¥याकेट्स संघले आगामी वर्षको लागि आयोजना गरेको एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको राउन्ड रोविन लिगको खेलमा शत प्रतिशत चारै खेलमा जित निकालेपछि विपना शीर्ष स्थानमा उक्लन सफल भएका हुन् ।
विपनाले राउन्ड रोविन लिगमा शीर्ष वरीयताकी स्वस्थानी श्रेष्ठ, समिक्षा ठकुरी, साक्क्षी सुनुवार र अस्मिता नगरकोटीलाई पराजित गरिन् । राउन्ड रोविन लिगको अन्तिम खेलमा विपनाले स्वस्थानीलाई ११–६, १२–१०, ११–१३ र ११–३ को सेटमा पराजित गरिन् ।
गत वर्ष राउन्ड रोविन लिगको अन्तिम खेलमा पराजित भएसँगै विपनाले शीर्षस्थानमा उक्लने मौका गुमाएकी थिइन् । तर, यस वर्ष विपनाले त्यो गल्तीलाई दोहोर्याएनन् ।
यसअघि शीर्ष वरीयतामा रहेपनि संघले आयोजना गरेको एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगितापछि उनी पहिलोपटक शीर्षस्थानमा पुगेकी हुन् । गत वर्ष च्याम्पियन बनेपनि स्वस्थानीले त्यसपछि भने कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकिनन् ।
यसअघि संघले राष्ट्रिय प्रतियोगितामा च्याम्पियन भएपछि वरीयता प्रदान गर्नै चलन थियो । तर, गत वर्षदेखि संघले र्याङकिङ प्रतियोगिता आयोजना गरेर वरीयता निर्धारण गर्न थालेको हो ।
महिलातर्फ यसअघि स्वेता कायस्थ वरीयताको शीर्षस्थानमा थिइन् । त्यसपछि झन्डै एक दशक लामो सयमसम्म भावना, सुनुवारले शीर्ष वरीयतामा पकड जमाइन् । त्यसपछि कृष्णा थापा मगर केही समय शीर्षस्थानमा रहिन् ।
त्यसपछि राष्ट्रिय प्रतियोगितामा च्याम्पियन हुँदै विपना शीर्षस्थानमा पुगेकी थिइन् । गत वर्ष भने विपनालाई पराजित गर्दै स्वस्थानी शीर्ष वरीयतामा उक्लन सफल भएकी थिइन् । महिलातर्फ अस्मिता नगरकोटीले तेस्रो, समिक्षा ठकुरीले चौथो र साक्षी सुनुवारले पाँचौं वरीयता प्राप्त गरेका छन् ।
पुरुषतर्फ अरहान्तले आफ्नो शीर्ष वरीयतालाई कायम राख्न सफल भएका छन् । उनलाई प्रतिस्पर्धा दिने अमृत थापा मगर र अमिर ब्लोन अनुपस्थित रहेपछि अरहान्तलाई थप सहज भएको थियो ।
प्रतिक्रिया