logo
  • २६ असार २०८३, शुक्रबार | Fri, 10 Jul 2026
  • बागमती प्रदेशस्तरीय मेयर कप: महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ फाइनल समीकरण पूरा

    • heralokhabar heralokhabar
    • २५ असार २०८३ बिहीबार
    बागमती प्रदेशस्तरीय मेयर कप: महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ फाइनल समीकरण पूरा

    हेरालाे खबर

    काठमाडौैं। बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनल तथा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

    ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा जारी प्रतियोगितामा बिहीबार महिलातर्फ क्वार्टरफाइनल र पुरुषतर्फ सेमिफाइनल चरणका खेल सम्पन्न भए।

    दिनको पहिलो खेलमा महिलातर्फ काठमाडौं महानगरपालिकाले बिगु गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। काठमाडौंले खेल २५–१९, २५–१२ र २५–५ ले आफ्नो पक्षमा पार्यो।

    अर्को क्वार्टरफाइनलमा गौरीशंकर गाउँपालिकाले धुलिखेल नगरपालिकालाई ३–० को सोझो सेटमा हरायो। गौरीशंकरले २५–२१, २५–२२ र २५–२१ ले जित निकाल्यो।

    तेस्रो क्वार्टरफाइनलमा बेथानचोक गाउँपालिकाले तार्केश्वर नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। पहिलो सेट २७–२५ ले गुमाएको बेथानचोकले त्यसपछिका तीनै सेट २५–२३, २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन जित दर्ता गर्यो।

    अन्तिम क्वार्टरफाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गर्यो।

    अब महिलातर्फ शुक्रबार बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले काठमाडौं महानगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा गौरीशंकर गाउँपालिकाले बेथानचोक गाउँपालिकाको सामना गर्नेछ। शुक्रबार नै तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ।

    पुरुषतर्फ पहिलो सेमिफाइनलमा ललितपुर महानगरपालिकाले माडी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो। ललितपुरले खेल २५–२०, २५–१९ र २५–१९ ले आफ्नो पक्षमा पार्यो।

    अर्को सेमिफाइनलमा महांकाल गाउँपालिकाले मेलुङ गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्यो। पहिलो सेट २५–२१ ले गुमाएको महांकालले त्यसपछि २५–२०, २५–१८ र २५–१७ ले लगातार तीन सेट जित्दै शानदार पुनरागमन गर्यो।

    अब पुरुषतर्फको उपाधिका लागि शनिबार ललितपुर महानगरपालिका र महांकाल गाउँपालिका आमनेसामने हुनेछन्। सेमिफाइनलमा पराजित माडी नगरपालिका र मेलुङ गाउँपालिकाले शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

     

    गत मंगलबारबाट सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरोलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको छ।



    heralokhabar heralokhabar    
  • २५ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP