logo
  • २३ असार २०८३, मंगलवार | Tue, 07 Jul 2026
  • बागमती प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

    • heralokhabar heralokhabar
    • २३ असार २०८३ मंगलवार
    बागमती प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

    हेरालाे खबर

    काठमाडौं। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा बागमती प्रदेशस्तरीय महिला तथा पुरुष मेयर कप भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

    जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिताको पहिलो दिन पाँच खेल सम्पन्न भए।

    महिलातर्फको उद्घाटन खेलमा तार्केश्वर नगरपालिकाले विगु गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्दै विजयी सुरुआत गर्यो। तार्केश्वरले खेल २५–१३, २५–११ र २५–९ ले आफ्नो पक्षमा पार्यो।

    पुरुषतर्फ आयोजक ललितपुर महानगरपालिकाले मेलुङ गाउँपालिकामाथि ३–० को सहज जित निकाल्यो। ललितपुरले २५–१७, २५–१९ र २५–१८ को सेटमा विजय हात पार्यो।

    अर्को पुरुष खेलमा बुढानिलकण्ठ नगरपालिकाले महांकाल गाउँपालिकालाई ३–२ को रोमाञ्चक सेटमा हरायो। पहिलो सेट २१–२५ ले गुमाएको बुढानिलकण्ठले दोस्रो सेट ३१–२९ ले जित्यो। तेस्रो सेट २१–२५ ले गुमाए पनि चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै खेल निर्णायक पाँचौं सेटमा पुर्यायो। पाँचौं सेट १५–८ ले जित्दै बुढानिलकण्ठ विजयी बन्यो।

    पुरुषतर्फकै अर्को खेलमा महालक्ष्मी नगरपालिकाले गल्छी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्यो। महालक्ष्मीले २५–१८, २८–२६ र २५–१३ ले खेल आफ्नो पक्षमा पार्यो।

    दिनको अन्तिम पुरुष खेलमा थाहा नगरपालिकाले माडी नगरपालिकालाई ३–२ ले हरायो। पहिलो सेट २५–२० ले जितेको थाहाले दोस्रो सेट २०–२५ तथा तेस्रो सेट १९–२५ ले गुमाएको थियो। त्यसपछि चौथो सेट २५–१७ र निर्णायक पाँचौं सेट १५–१० ले जित्दै थाहाले उत्कृष्ट पुनरागमनसहित खेल आफ्नो पक्षमा पार्यो।

    प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायत अतिथिहरूले बल हस्तान्तरण गर्दै गरेका थिए।

    प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विधागत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, लिबेरोलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेकाे छ।



    heralokhabar heralokhabar    
  • २३ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP