logo
  • २७ आश्विन २०८१, आईतवार | Sun, 13 Oct 2024
  • लेकसाइडमा करेन्ट लागेर पौडेलको मृत्यु, घटनाको जिम्मा सरकारले लिनुपर्ने परिवारको माग

    • Heralo Reporter Heralo Reporter
    • १३ आश्विन २०८१ आईतवार
    लेकसाइडमा करेन्ट लागेर पौडेलको मृत्यु, घटनाको जिम्मा सरकारले लिनुपर्ने परिवारको माग

    पोखरा , हेरालाे खबर

    पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड गौरीघाटका ६३ वर्षीय खेमबहादुर पौडेल (मंगल) रहेका छन् ।

    यो घटना असोज १ गते दिउँसो करिब १ बजेको भए पनि ढिला गरी सार्वजनिक भएको छ । घरको आँगनमा लत्रिएको तार पन्छाउने क्रममा पौडेललाई करेन्ट लागेको बताइन्छ ।

    करेन्ट लागेर आँगनमै ढलेका पौडेललाई स्थानीयको सहयोगमा उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो । पौडेलको घाँटी, पेट, खुट्टा, हातलगायतका भाग जलेका थिए । मणिपाल अस्पतालमा आईसीयूमा राखेर उपचार गर्दै गर्दा असोज ९ गते पौडेलको मृत्यु भएको हो ।

    मणिपालमा उपचार गराउँदा सुधार नभएपछि उनलाई हेलिकप्टरमा राखेर काठमाडौँ लैजाने प्रयास पनि मौसमका कारण सफल हुन नसकेको बताइन्छ । पौडेललाई करेन्ट लागेको थाहा पाएपछि प्रहरी पुगेर घटनाको मुचुल्का गरेको थियो । प्रहरीले तारको नमुना संकलन गरेको छ ।

    यसैबीच पौडेलका आफन्तजनले घटनाको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । परिवारले इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिचान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरीसमेत दिएका छन् ।

    इन्टरनेट प्रदायक कम्पनीले चुँडिएको तार लामो समयसम्म बेवारिस छोड्दा पौडेलले ज्यान गुमाउनुपरेको पीडित परिवारको गुनासो छ ।

    पीडित परिवार र लेकसाइडका पर्यटनसँग सम्बन्धित, नागरिक समाज, आमा समूहलगायतका २२ संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

    साथै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरिएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP