पाेखरा , हेरालाे खबरा
यस बर्षकाे विजयादशमीकाे टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ ।
यद्यपि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने उल्लेख गरेको छ । टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ फर्किनुपर्नेछ ।
शनिबार बिहान ८ः३३ बजे विजयादशमीको देवी बिसर्जनको समय रहेको छ ।
बडादशैँको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म निश्चित भेगमा टीका लगाउने चलन छ ।
पछिल्लो समय भने यो क्रम धेरै स्थानमा बढेको छ ।
राष्ट्रपतिले दाइबाट टीका लाउने
विजयादशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् ।
राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नेछन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् ।
उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विजयादशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका जमरा लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका जमरा लगाइदिनेछन् ।
साथै सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ:
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ ।
महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
प्रतिक्रिया