हेरालाे खबर
पोखरा महानगरपालिकाकी एक महिला कर्मचारीको आन्तरिक सरूवा अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा तीज गीत गाएका कारण आफूलाई सरूवा गरिएको दाबी गरेकी छन् ।
मेयर बालेनको प्रशंसामा गीत गाएका कारण एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले यसबारे प्रष्टीकरण दिएको छ ।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् ।
कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएको उनको भनाइ छ । कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनको विज्ञप्तिमा उल्लेख छ ।
‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’
सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेको विषय बाहिरिएकै बेला महानगरपालिकाले यस्तो बताएको हो ।
वाग्लेले केही समयअघि ‘हिम्मतवाला बालेनको नाम इतिहासमा लेखियो, गरे जे नि हुने रैछ जे नि देखियो’ बोलको गीत निकालेकी थिइन् । उक्त गीतमा शब्द, लय र स्वर उनकै छ । यस प्रकरणले उनको गीतले मिलियिन भ्यूज क्रस गरिसकेको छ । हालसम्म झण्डै साढे ११ लाख पटक हेरिसकिएको छन्।
महानगरपालिकाले सरुवाको विषयमा इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूमा भ्युज बढाउने मनसायबाहेक केही नभएको समेत दाबी गरेको छ ।
तीन महिनाअघि मात्रै वडा नं. ३ बाट महानगरमा ल्याइएकी वाग्लेलाई केही दिनअघि पोखरा २३ नं. वडामा सरुवा गरिएको हो । करिब ५ वर्ष वडा नं. ३ मा बसेर आएकी वाग्लेलाई तीन महिनामै फेरि वडा पठाइएको छ । २३ नम्बर वडा यहाँका ३३ वडामध्ये तुलनात्मक रूपमा अपायक मानिन्छ ।
पोखरा महानगरपालिकाले जारी गरेको कर्मचारीको पदस्थापन, सरुवा र कामकाजमा खटाउने मापदण्ड २०८० ले महाशाखा, शाखा, वडा कार्यालय, आयोग, समिति र कार्यालयमा कार्यरत कर्मचारीलाई न्यूनतम एक वर्षमा सरूवा गर्न सकिने उल्लेख छ ।
प्रतिक्रिया