logo
  • २९ असार २०८३, सोमबार | Mon, 13 Jul 2026
  • बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

    • heralokhabar heralokhabar
    • २७ असार २०८३ शनिबार
    बेथानचोक र ललितपुरलाई मेयर कप भलिबलको उपाधि

    हेरालाे खबर

    काठमाडौं। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन्।

    शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्दै च्याम्पियन बन्यो। ललितपुरले २५–२०, २५–१५ र २५–२० को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो। पुरुषतर्फ माडी नगरपालिका तेस्रो स्थानमा रह्यो।

    महिलातर्फ बेथानचोक गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो। बेथानचोकले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो सेट २५–२३ र चौथो सेट २५–८ ले जित्दै बेथानचोक च्याम्पियन बन्यो। महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो स्थानमा रह्यो।

    प्रतियोगिताको विजेता दुवै टोलीले समान दुई लाख रुपैयाँ तथा उपविजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। पुरुषतर्फ ललितपुरका अशोक श्रेष्ठ र महिलातर्फ बेथानचोककी रिक्जना भोटे प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

    महिलातर्फ उत्कृष्ट स्पाइकर काठमाडौंकी सुनिता बस्नेत, उत्कृष्ट सेटर बेथानचोककी पूर्णकला केसी, उत्कृष्ट ब्लकर काठमाडौंकी सारिका कार्की तथा उत्कृष्ट लिबेरो ललितपुरकी स्मृति राई घोषित भए। उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    पुरुषतर्फ उत्कृष्ट स्पाइकर महांकालका बलदेवसिंह धामी, उत्कृष्ट सेटर ललितपुरका सुवास कुँवर, उत्कृष्ट ब्लकर ललितपुरका चिरन खड्का, उत्कृष्ट सर्भर महांकालका अनिल सिंह तथा उत्कृष्ट लिबेरो ललितपुरका राजन दर्लामी मगर घोषित भए। उनीहरूले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायत विशिष्ट अतिथिहरूले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।

    प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले असार २३ गतेदेखि आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको थियो।



    heralokhabar heralokhabar    
  • २७ असार २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP