logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखरामा जारी नेसपाको विधान अधिवेशनमा के-के हुँदैछ ?

    • Heralo Reporter Heralo Reporter
    • ६ कार्तिक २०८१ मंगलवार
    पोखरामा जारी नेसपाको विधान अधिवेशनमा के-के हुँदैछ ?

    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) विधान अधिवेशन पोखरामा जारी छ । आजसम्म चल्ने अधिवेशनमा नेसपाका करिब चार सय प्रतिनिधि सहभागी छन् ।

    अधिवेशनमा पार्टीको केन्द्रीय समिति बढीमा एक सय ५१ सदस्यीय र पदाधिकारी १३ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारी १७ सदस्यीय रहने प्रस्ताव छ ।

    केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनका प्रतिनिधि/पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचनको प्रणालीद्वारा गरिने प्रस्ताव छ ।

    उक्त प्रस्ताव पार्टीका सचिवालय सदस्य, विधान तथा घोषणापत्र मस्यौदा समिति संयोजक डा. जनक शाहले प्रस्तुत गरेका थिए ।

    यस्तै, पार्टीका महाधिवेशन आयोजक समिति सचिवालय सदस्य अधिवक्ता कृष्ण शर्माले विधान प्रस्तुत गरे ।

    नेसपाको विधान मस्यौदामाथि छलफल गर्न सोमबार गोलाप्रथाद्वारा विभिन्न १० समूह बनाइएको छ । एक समूहमा ४० जना छन् ।

    केही प्रतिनिधिले पार्टीको नाम फेरेर ‘नयाँ शक्ति’ राख्नुपर्ने बताएका छन् । उनीहरुले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रस्ताव गरेका छन् ।

    पोखरा सभागृहमा भएको अधिवेशन आगामी महाधिवशेनको मिति र स्थान तय, निर्वाचन आयोग गठन, सांगठानिक कार्ययोजना घोषणा गर्दै मंगलबार सकिने छ ।

    उद्घाटनमा अध्यक्ष भट्टराईले यसो भने

    नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले आफू निकटका भ्रष्टलाई संरक्षण गरिरहेको आरोप लगाए ।
    ओम्नी, सहकारी, भुटानी शरणार्थी प्रकरणलगायतका काण्डमा ठूला दलका सबैजसो नेता संलग्न रहे पनि सरकारले अरूलाई तर्साएर आफू निकटका भ्रष्टलाई जोगाउने काम गरेको उनको जिकिर थियो ।

    सोमबारबाट पोखरामा शुरु भएको पार्टीको विधान अधिवेशनमा अध्यक्ष भट्टराईले सबै दल भ्रष्टाचारमा लिप्त रहेकाले उनीहरूलाई समेत छानबिन गर्नका लागि एक छुट्टै संस्थाको आवश्यक रहेको तर्क गरे ।

    राष्ट्रपति, प्रधानमन्त्रीलगायतका व्यक्ति र शक्तिलाई कारबाहीको दायरामा ल्याउने खालको संस्था नबनाई मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम नहुने भट्टराईले बताए । उनले भ्रष्टाचार नियन्त्रणको कुरा मुखले भनेर मात्रै नहुने पनि दोहोर्याए ।

    ‘आफ्नो भ्रष्टाचारीलाई च्यापेको छ अनि अर्को भ्रष्टाचारीलाई लगेर तर्साएको छ, अनि म सुशासन कायम गर्ने भनेर कुर्लिराखेको छु, भ्रष्टाचारी यिनै हुन्, चाहे बुढिगण्डकी आयोजना भन्नुस्, चाहे ओम्नी काण्ड भन्नुस्, चाहे भुटानी शरणार्थी काण्ड भन्नुहोस्, चाहे सहकारी काण्ड भन्नुहोस्, यसमा सबै दल मुछिएका छन्’, अध्यक्ष भट्टराईले भने ।

    उनले थपे, ‘अब यो समस्या हल गर्नको निम्ति हामीले बेग्लै संस्था चाहिन्छ भनेर शुरुदेखि नै भनेका छौँ यस्तो संस्था बनोस्, जसले देशको राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैलाई अभियोजन गरेर मुद्दा लगाएर त्यसलाई कारबाही गर्न सकोस् भन्ने हाम्रो शुरुदेखिको माग छ त । संस्थाले भ्रष्टाचार नियन्त्रण गर्छ भनेका छौँ हामीले । तर अहिले तमासा भइराखेको छ ।’

    मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र अहिले नयाँ भनिएका पार्टीले जुन संगठनात्मक सिद्धान्त, पद्धति अपनाएका छन् त्यो गलत भएको आरोप लगाउँदै आफूहरु नयाँ ढंगले जाने बताए ।
    ‘नेसपा बाबुरामको पार्टी हो भन्ने प्रचार भयो तर त्यसो होइन । बाबुराम त भोलि मरेर जान्छ । वैकल्पिक शक्ति भनेको त विचार हो,’ उनले भने ।

    उनले आफ्नो पार्टीको घोषणापत्र नेपालका अन्य सबै पार्टीको तुलनामा उत्कृष्ट बनेको दाबी गरे । उनले भने, ‘पत्रकार साथीहरुले पनि कांग्रेस, एमाले, माओवादीको घोषणापत्र दाँजेर आपसमा बहस चलाउनुहोस् । हामीहरुको घोषणापत्र उत्कृष्ट बनेको छ ।’

    उनले आफ्नो निजी स्वार्थका लागि जिन्दगीमा कुनै पनि काम नगरेको दाबी गरे । उनले भने, ‘बाबुराम भट्टराई अर्थमन्त्री भयो, प्रधानमन्त्री भयो, एक पैसा कसैबाट लिएर देश र जनताको अहितमा लागेको छ भनी कोही प्रमाणसहित भन्छ भने चुनौती छ, म जेल जान तयार छु ।’

    आफू पहिलोपल्ट अर्थमन्त्री बन्दा २०६५ सालमा ‘समृद्धि’ शब्द प्रयोग गरेको स्मरण गर्दै डा. भट्टराईले भने, ‘पहिले विकासको मूल फुटाउने भन्थे । अहिले त्यही शब्द चोरेर सबैले समृद्धि समृद्धि भन्ने गरेका छन् ।’



    Heralo Reporter Heralo Reporter    
  • ६ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP