logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • बाराहीघाटमा कोटिहोम नहुने,अब पोखराकै बिरौटामा हुने

    बाराहीघाटमा कोटिहोम नहुने,अब पोखराकै बिरौटामा हुने


    पोखरा, हेरालाे खबर

    बाराहीघाटमा आयोजना गर्ने भनिएको कोटिहोम महायज्ञ अब पोखरा–१७ बिरौटामा हुने भएको छ। भूमिपूजनकै क्रममा भएको झडपपछि स्थान परिवर्तन गर्ने सहमति जुटाइएको हो।

    गत फागुन २३ गते बाराहीघाटमा भूमिपूजन चलिरहँदा पोखरा महानगरका नगरप्रहरी र आयोजकबीच झडप हुँदा करिब दुई दर्जन व्यक्ति घाइते भएका थिए। त्यसपछि पोखरा महानगरपालिका, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय कास्की र आयोजक मानव सेवा फाउन्डेसनबीच छलफल भयो। फागुन २६ गते बसेको बैठकले कोटिहोम सञ्चालन गर्न दिने तर स्थानको टुंगो लगाउन कार्यदल गठन गर्ने निर्णय गर्यो।

    महानगर, प्रशासन र आयोजकका प्रतिनिधिहरू सम्मिलित पाँच सदस्यीय समितिले अन्ततः महायज्ञ पोखरा–१७ स्थित सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति) को स्वामित्वमा रहेको जमिन तथा आसपासका स्थानीयहरूको जमिन भाडामा लिएर आयोजना गर्ने निर्णय गरेको छ।

    पोखरा–१७ स्थित मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका–१७ बिरौटा, पोखरा महानगरपालिका, र जिल्ला प्रशासन कार्यालय कास्की ले महायज्ञ सञ्चालनका लागि अनुमति प्रदान गरिसकेका छन्। आयोजक मानव सेवा फाउन्डेसन नेपाल कास्की परिवार अहिले तयारीमा जुटिसकेको छ।

    आइतबार महायज्ञ संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीसामु स्थानीय आमा समूह, टोल विकास समिति, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित भई महायज्ञ सफल बनाउन ऐक्यबद्धता जनाएका छन्।

    महायज्ञ २०८१ चैत १७ देखि २०८२ जेठ २६ सम्म सञ्चालन हुनेछ। यसअघि, महायज्ञका लागि पोखराका विभिन्न स्थानमा चौतारी सार्ने कार्यले विवाद निम्त्याएको थियो। पोखरा महानगरपालिकाले आयोजक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको थियो भने यो विषय अदालतसम्म पनि पुगेको छ। यद्यपि, महानगर र आयोजकबीच समझदारी भए पनि अदालतमा पुगेको मुद्दा भने अझै मिलापत्र भइसकेको छैन।



    Heralo Reporter Heralo Reporter    
  • ११ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP