logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • साफ च्याम्पियनसिप : फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा

    • Heralo Reporter Heralo Reporter
    • ११ भाद्र २०८१ मंगलवार
    साफ च्याम्पियनसिप :       फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा

    पोखरा , हेरालाे खबर

    दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

    नेपाली राष्ट्रिय यु-२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

    यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

    प्रशिक्षक श्रेष्ठले समूह चरणको जितले केही अर्थ नराख्ने भन्दै फाइनल खेलका लागि आफ्नो टोलीको तयारी अवस्थामा रहेको बताए ।

    श्रेष्ठले भने, “बङ्गलादेश एकदमै राम्रो टोली हो । सोमबार भारतजस्तो बलियो टोलीलाई उसले हराएको छ । त्यसैले भोलि निकै प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरेको छु ।”

    सोमबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    त्यस्तै बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरुको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिए ।

    प्रशिक्षक हाकीले यसअघि समूह चरणको खेलमा नेपालसँग आफ्नो टोली पराजित भए पनि फाइनल खेलमा उपाधि जित्ने मनोबलका साथ खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल र बङ्गलादेशबीचको फाइनल खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।



    Heralo Reporter Heralo Reporter    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP