हेरालाे ख
बर
काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले स्तनपान कक्षको स्थापना गरेको छ । काठमाडौँको टेकुस्थित आफ्नो कार्यालयमा शुक्रबारदेखि सञ्चालन हुनेगरी स्तनपान कक्षको उद्घाटन गरिएको हो । उक्त स्तनपान कक्षको प्रयोग जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीले गर्ने बताइएको छ । १६–२२ साउन(१–७ अगस्ट) मा विश्व स्तनपान सप्ताहको अवसर पारेर स्तनपान कक्षको स्थापना गरिएको हो । ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मुल नाराका साथ यस वर्षको स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

शुक्रबार सप्ताह समापनको दिन जनस्वास्थ्य कार्यालय, काठमाडौँले स्तनपान सम्बद्र्धनका लागि अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न गरेको छ । अभिमुखीकरणमा विभिन्न सञ्चारगृहमा आवद्ध नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका करिब दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लिला विक्रम थापाले स्तनपान प्रवद्र्धनका लागि सरकारले गरिरहेका कामहरुको सम्बन्धमा प्रकाश पारेका थिए । उनले थापाथलीस्थित प्रसुतिगृहमा २०६९ सालदेखि ब्रेस्ट मिल्क बैंक स्थापना भएको भन्दै यस वर्ष चितवनस्थित भरतपुर अस्पतालमा पनि स्थापना हुने जानकारी दिए । उनले स्तनपानको प्रवद्र्धनमा नेपाल सरकारले जोड दिइरहेको उल्लेख गरे ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौँकि जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको अवस्था बारे जानकारी गराएकी थिइन् । उनले स्तनपान प्रवद्र्धनमा गरिने खर्च नभइ लगानी भएको बताइन् । उनले सुनौलो हजार दिनका आमा र बच्चालाई विशेष महत्वका साथ ध्यान दिनुपर्ने भन्दै स्तनपानले बच्चाको शारिरिक र मानसिक विकासका साथै भविष्यमा हुनसक्ने नसर्ने रोगमा कमी आउने बताइन् । खनालले शिक्षा नभएकाहरुले भन्दा उच्च शिक्षा भएकाहरुले नै स्तनपान नगराई दुधदानीबाट दुध खुवाउने गर्नु चिन्ताको विषय भएको उल्लेख गरिन् । 
जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको विक्रि वितरणमा अनुगमन गर्दै आएको उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सहसचिव विक्रम रत्नले स्तनपान प्रवद्र्धनका लागि सञ्चारगृहले प्रकाशन तथा प्रशारण गर्ने समाचारले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै यसका निम्ति पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले आफुहरुले जनस्वास्थ्य सँग सम्बन्धित विषयमा संवेदनशील भएर कलम चलाउने पनि बताए । उनले पत्रकार महासंघ काठमाडौँले जनस्वास्थ्यसँग जोडिएका विषयमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया