हेरालाे खबर
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को विषयमा फिल्मका निर्देशक तथा निर्माताले झापाको बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरेका छन् ।
फुटबल खेल्नका लागि एञ्जिलाले घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा फिल्ममा रहेको निर्देशक मिलन चाम्सले बताए । फिल्म फागुन २९ मा प्रदर्शन हुनेछ।
फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेको चाम्सले बताए ।
चलचित्रका निर्देशक चाम्सले एञ्जिलाको विगतका छायाँबाट भविष्यका लागि गरेको संघर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित चलचित्र रहेको बताए । चाम्सले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको जिकिर गरे ।
चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
निर्माता श्रेष्ठले केही समयमै काठमाडौँमा एञ्जिलाको घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । फिल्म एकदमै मेहनत गरेर बनाइएको हुँदा पूर्वेली चेली एञ्जिलाबारे बुझ्न फिल्म हेर्नैपर्ने श्रेष्ठको भनाइ छ ।
चलचित्र नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिज भइसकेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।
चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ, कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बू र राजेश बगडिया सहनिर्माता हुन् । एन्जिला व्यवसायिक फुटबल खेल्नका लागि ग्रिसमा छिन्।
प्रतिक्रिया