Sunday 19th May 2024
झापाका घुम्न छुटाउन नहुने महत्वपुर्ण स्थल
सूर्यबहादुर थापा / हेरालाे खबर, २०७६ भाद्र २८ शनिवार ।
कोलडाँडा
विकास निर्माणले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्छ भन्ने उदाहरण बनेको छ, इलाम र झापाको सिमावर्ती क्षेत्र चपेटी ।
झापाको दमकबाट उत्तर तर्फ पर्ने इलामको चुलाचुली ९ मा रहेको चपेटी र सँगैको कोलडाँडा झापा र मोरङ्कको आकर्षक पर्यटकिय गन्तव्य बनेको छ । दमक चौकबाट करीब १० किलोमिटर दुरीमा पर्ने रवि तर्फ जाने बाटो नजिकै रतुवा खोला आसपासको क्षेत्रमा पर्ने ति ठाउँमा रहेको प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण त्यहाँ आन्तरिक पर्यटकहरु जान थालेका हुन् ।
बेलडाँगी हुँदै जाने सो क्षेत्रमा जादाँ भुटानी शरणार्थी शिविर र नजिकै रहेको किरात महागुरु तथा राष्ट्रबिभूती फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम अर्थात मन्दीरहरु र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिचिरहेको छ ।
दोमुखा क्षेत्र
मेची अञ्चल झापा जिल्ला शिवसताक्षी नगर पालिका वार्ड नं. ९ को उत्तर ईलाम जिल्लाको महमाई गा.वि.स. वार्ड नं.९ को दक्षिण, कनकाई नदिको किनारमा अबस्थित मनोरम धार्मिक तथा पर्यटकीय क्षेत्रलाई दोमुखा क्षेत्र भनिन्छ । महाभारत पर्वत श्रृखलाबाट उत्पति भईचुरे पहाडलाई चिर्दै पूर्व मोहडा पारी निस्कने कनकाई नदीमा जापानी आर्थिक तथा प्राविधिक सहयोगमा कोरियाली विकास निगम ले पूर्व मोहडाको कनकाई नदीबाट दक्षिण तर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा बिभाजन गरेको हुँदा यो क्षेत्र दोमुखा भनि परिचित हुन गएको हो । यस क्षेत्र प्राकृतिक तथा वातावरणिय रुपले सुन्दर रहेको छ र पर्यटकीय क्षेत्र स्थापनाको लागि पूर्वाधार समेत रहेको र धार्मिक रुपमा पनि भक्तजनहरुको आवत–जावत भई रहने हुँदा र अव्यवस्थित रुपमा बार्षिक लाखौं संख्थामा यस क्षेत्रमा बनभोज खान आउने, बिभिन्न चलचित्र लगायत अन्य डकुमेन्ट्रिको लागि छायाङ्कन गर्न तथा मनोरञ्जन गर्न देश विदेशबाट पर्यटकहरु आउने गर्दछन् ।
यस क्षेत्रमा पर्यटकहरुले चुरे पहाड भएकोले बिभिन्न बस्तुहरुको अन्वेषण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट ईलाम जिल्ला भित्रका बिभिन्न स्थानहरुको अवलोकन गर्न र झापाका तराईका फाँटहरुलाई दृष्य अवलोकन गर्न र कनकाई नहरको उत्पतिलाई अवलोकन गर्न सकिन्छ ।
कन्काई धाम (कोटीहोम
)
कन्काई धाम (कोटीहोम) पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जनिन्छ । कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौ पाटी, पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् ।
यहाँको कनकाई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै देखिने चूरे पहाडको मनोरम दृश्य, कनकाई नदीको स्नान योग्य स्वच्छ चीसो पानी र सर्वसुलव सुगमक्षेत्र भएको कारण सबैको मन जित्न सफल हुदै गएको छ साथै यहाँ पर्यटकहरुको लागि सुविधायुक्त भवनहरू निर्माण हुन थालेका छन् ।
कनकाई धाममा विशेष गरी शनिवार र मंगलबार पूजा पाठ गर्नेहरूको बढी घुइचो हुने गरेको छ । यस बाहेक राम नवमी, महाशिवरात्री, जनै पूर्णिमा,बुद्ध जयन्ति,ऋषि पञ्चमी, बाला चतुर्दशी आदि पर्वहरू र श्रावण महिना भर जल चढाउने बोलबम भक्तहरुको भिड हुने गर्दछ । पूर्वाञ्चल क्षेत्रकै प्रख्यात माघे सक्रान्तिमा हुने माई मेला भने बर्षको एक पटक माघ संक्रान्ति अघि पछि गरी एक हप्ता सम्म लाग्ने गर्दछ ।
यस क्षेत्रमा चुरे पहाड भएकोले पर्यटकहरूले विभिन्न वस्तुहरुको अन्वेषण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट इलाम जिल्ला भित्रका बिभिन्न स्थानहरुको अवलोकन गर्न र झापाका तराईका फाँटहरुलाई दृष्य अवलोकन गर्न यस क्षेत्रमा बिभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, रितिरीवाज, परम्परा, भेषभुषा र संस्कारको जगेर्ना गर्दै भाईचारा सम्बन्धलाई बलियो बनाई बिभिन्न जात–जातीहरुका मानिसहरुको बसोबास रहेको छ ।
कसरी पुग्ने
यातायातको लागि कनकाई न.पा. रहेको यो धाम महेन्द्र राजमार्ग अन्तर्गत नेपालकै लामो कनकाई नदीको पुलको पुर्वीय तटमा रहेको “कनकाई धाम धार्मिक विकास संस्था” कोटीहोम धामसम्म आउनको लागि पक्की सडक रहेकोले यहाँ आउँन प्रसस्त रूपमा सवारी साधन पाईन्छन् । साथै भद्रपुर विमानस्थलबाट, बस तथा ट्याक्सीबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा हुँदै यो धाममा आउन सकिन्छ ।
अर्जुनधारा
अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ । अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन् । अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ ।
महाभारत कालमा पाण्डवहरू लुकेर यीनै स्थानमा गुप्तवास बसेका र दुर््योधन लगायत कौरवहरूले उक्तपत्ता लगाई पाण्डवहरूको गुप्तवास भंग गर्न विराट राजाका नौ लाख गाईहरू हरण गरी लगेको तथा कौरवहरूले गाई हरण गरेको स्थान गौ हरण तथा यसको अपभ्रंश भई गोरुवा हुदै गरुवा भएको बताइन्छ, जुन स्थान हाल इलाम जिल्लाको दानाबारी गाविसमा पर्दछ । हरण गरेर लगेका गाईहरू कौरव पक्षले गौहटी (हाल आसाम राज्यको गुहाटी) पुर्याएका थिए र पाण्डव पक्षका वीर योद्धा बृहन्नला को रूपमा लुकेर बसेका अर्जुनले लुटिएका गाईहरू कौरवहरू सँग युद्ध गरी फिर्ता ल्याउँदा अत्यन्तै तिर्खाएकाले जलदेवता भगवान शिवको आरधना गरी जमीनमा प्रर्जन्य अस्त्र (पानी निकाल्ने यन्त्र, वाणको माध्यम)ले पानी निकाली गौमातालाई खुवाएको स्थानका रूपमा यस स्थानलाई लिइन्छ । यहाँ निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ ।
अर्जुनधारा जलेश्वरधाम झापा जिल्लाको विर्तामोडबाट लगभग ५ कि.मी. उत्तरको गए पछि शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ६ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर धाममा पुग्न सकिन्छ । उक्त यात्रा बस, ट्याक्सी अदि चढेर गर्न सकिन्छ ।
सतासीधाम
सतासीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । झिलझिले बजारबाट करिब ४ कि. मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक – पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् । सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुँइचों लाग्ने गर्दछ ।
सतासीधामको नामाकरणको बारेमा निम्नानुशार विभिन्न किम्बदन्तीहरू रहेका छन । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ । अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नु पर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षीबाट सतासी रहनगएको हो भन्ने भनाई छ । पृथ्वीमा सुख्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ । भारतको तेजपुर (दिनाजपुर) बाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनीहरूलाई गुरुको रूपमा लिएर पहाड तर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकोले गुरुहरू यसै सतासीधामका गुफाहरूमा बसेर देवीको तपस्या गर्नु भएकोले ८७ जना ऋषीमुनीहरूको नामबाट सतासीधाम नाम रहन गएको हो । अर्को किम्बदन्ती अनुसार सन्त हरितिल बाबाले सताक्षीधाम पत्तालगाई सकेपछि विसं १९८७ सालामा श्री ३ भीमसम्शेरको दरवारमा विन्ती पत्र चढाएकोले पनि ८७ सालबाट सतासीधाम नाम रहन गएको भन्ने गरेको पाइएको छ ।
कीचकवध
कीचकवध भन्ने ठाउँ झापा जिल्लाको पृथ्वीनगर गा. वि. स. मा मेची र देउनियाँ खोलाको संगममा छ । यस ठाउँलाई ऐतिहासिक धार्मिकस्थलको रुपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरु मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति कीचकले द्रौपदीमाथि कुदृष्टि दियो । भीमसेनले यो कुरा चाल पाए र कीचकको वध गरे । त्यही भीमसेनले कीचकको वध गरेको ठाउँलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ ।
अनारमनी विर्ताबजार
अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गा. वि. स. क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन ।
जामुनखाडी सिमसार क्षेत्र
जामुनाखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सुरुगां गाविसको वडा न. २ र ५ को डाँडागाउँमा अवस्थित छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गरि आवागमनका लागि खुल्ला गरिएको छ । स्थानीय जामुनखाडी सामुदायिक बनभित्रको केही भूभागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न शुरु गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटरको दूरीमा सुरुङ्गा गाविस २ र ५ वडामा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भूभागमध्ये १०हेक्टर अर्थात १४ विगाह ८ कठ्ठा ६ धुर विगाह जमिनलाई समेत सिमसार क्षेत्रको रुपमा विकास गर्ने योजना छ । ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ । ४ विगाह क्षेत्रकोबीचमा रहेको लाम्चो आकारको पोखरी पर्यटक लोभ्याउने प्रमुख आकर्षणको विन्दु रहेको छ । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीभित्र व्यवसायिक रुपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र त्यहाँभित्रनै माछापालन समेत गरिएको छ । विश्वमै दुर्लभ मानिएको अजिङ्गर यहाँको अर्को आकर्षणको कारण हो। त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग, जरायो आदि यहाँका गहना हुन् । जुन हेर्न कै लागि पनि पर्यटकहरु आउने गरेको छन ।
#VisitNepal2020